×

वीरगञ्ज । विश्व हिन्दु परिषद् नेपालले शनिवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा नेपाल हिन्दु पत्रकार सङ्घलाई ३० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ ।

वीरगञ्जस्थित माईस्थान अतिथि सदनको सभा हलमा आयोजित कार्यक्रममा ज्योति रुङ्गटाले हिन्दु पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारलाई ज्याकेट हस्तान्तरण गरेका छन् । कार्यक्रममा उपस्थित सङ्घका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई समेत ज्याकेट लगाइदिएर सम्मान गरिएको थियो ।

सोही अवसरमा लामो समयदेखि वीरगञ्जलाई कर्म क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका दीपक चौरसियालाई हिन्दु पत्रकार सङ्घमा आबद्ध गराइएको थियो । नव आबद्ध पत्रकार चौरसियालाई अध्यक्ष राजन रौनियार तथा सङ्घका सचिव राज सराफले प्रेस ज्याकेट लगाइदिएर स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ज्योति रुङ्गटाले पत्रकारहरूको सुरक्षा, सहजता र पहिचानलाई ध्यानमा राखेर ज्याकेट सहयोग गरिएको बताए । उनले पत्रकारहरूले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसँग सहकार्य जारी रहने धारणा व्यक्त गरे ।

त्यसैगरी, अध्यक्ष राजन रौनियारले परिषद्ले पत्रकारहरूको आवश्यकता बुझेर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रेस ज्याकेटलाई जिम्मेवारी र पहिचानको प्रतीकका रूपमा व्याख्या गरे । उनले दीपक चौरसियाको सङ्गठनमा आबद्धताले संघ थप सशक्त बनेको विश्वास समेत व्यक्त गरे ।

राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राज सराफले गरेका थिए । कार्यक्रममा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Back to top