वीरगञ्ज । पर्सामा जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव गुप्ताले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई अनुशासनका साथ आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न आग्रह गरे । उनले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन सुरक्षा, व्यवस्थापन तथा प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्ने बताए ।
पर्सा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगितामा वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिकाका ३७५ विद्यार्थी सहभागी भएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दोलगायत विभिन्न खेल समावेश गरिएका छन् । विद्यालय स्तरमा हुने प्रतिस्पर्धाले खेल प्रतिभा पहिचान तथा खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ ।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख महमद नाजिर हुसेन, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, श्री जंग गण वीरगञ्जका उपसेनानी सन्देश तामाङ, नेपाल कबड्डी सङ्घका केन्द्रीय सचिव महम्द फिरोज शेख, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, पत्रकार शम्भु कुमार सुमन तथा एथलेटिक्स प्रशिक्षक विश्वेश्वर पटेल र आकाश पटेललगायतको सहभागिता रहेको थियो ।