×

फाइल तस्बिर ।

वीरगञ्ज ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावका कारण देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार अहिले कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोसी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, मधेस र कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ ।

आज राति कोसी प्रदेशसहित अन्य हिमाली भू–भागमा सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

महाशाखाले कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने जनाएको छ । सम्भावित वर्षा, चट्याङ्ग, हावाहुरी तथा तातो लहरबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Back to top