×

वीरगञ्ज ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको समयमा शनिवार साँझ ह्वाइट हाउस नजिकै भीषण गोली हानाहान भएको छ । अमेरिकी सञ्चारमाध्यमहरू अनुसार एक व्यक्तिले ह्वाइट हाउस नजिकैको सुरक्षा चौकीमा गोली चलाएका थिए ।

समाचारहरूका अनुसार सन्दिग्ध आक्रमणकारीले अमेरिकी सिक्रेट सर्भिसका अधिकारीहरू तैनाथ रहेको चेकपोइन्टमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । जवाफी कारबाहीमा सुरक्षाकर्मीले चलाएको गोली लागेर ती सन्दिग्ध गम्भीर घाइते भएका थिए । उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन् । घटनामा एक जना सर्वसाधारण बटुवा पनि घाइते भएको बताइएको छ ।

ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले करिब २०–३० राउन्ड जति गोली चलेको आवाज सुनेका थिए । त्यसपछि सिक्रेट सर्भिसले तत्काल पत्रकारहरूलाई प्रेस ब्रिफिङ कक्षभित्रै बस्न निर्देशन दिँदै सम्पूर्ण परिसरलाई लकडाउन गरेको थियो ।

एफबीआई, सिक्रेट सर्भिस र वासिङ्टन महानगरीय प्रहरी विभागले घटनास्थललाई घेरा हालेर अनुसन्धान सुरु गरेका छन् । सुरक्षाका लागि ह्वाइट हाउस कम्प्लेक्सको नर्थ लन खाली गरिएको छ । एफबीआईका निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत सुरक्षा निकायहरूले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताएका छन् ।

सिक्रेट सर्भिसले सामाजिक सञ्जाल एक्समा १७ औँ स्ट्रिट र पेन्सिल्भेनिया एभिन्यू एनडब्ल्यू क्षेत्रमा गोली चलेको रिपोर्ट प्राप्त भएको जानकारी दिएको छ । उक्त स्थान ह्वाइट हाउसबाट करिब एक ब्लक मात्र टाढा पर्छ ।

यसअघि पनि भएको थियो आक्रमण प्रयास

एक महिना अघि वासिङ्टन डिसीमा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट डिनर’ का क्रममा होटेल हिल्टन बाहिर गोली चलेको थियो । कार्यक्रममा राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्सलगायत उच्च अधिकारी उपस्थित थिए ।

आक्रमणकारीले बलरूम बाहिर गोली चलाए पनि राष्ट्रपति ट्रम्प सुरक्षित रहेका थिए । उक्त घटनामा क्यालिफोर्नियाका ३१ वर्षीय कोल तोमास एलेनलाई पक्राउ गरी राष्ट्रपतिको हत्या प्रयासको अभियोगमा मुद्दा चलाइएको छ ।

त्यसअघि जुलाई १३, २०२४ मा पेन्सिल्भेनियाको बटलर सहरमा आयोजित चुनावी र्‍यालीका क्रममा पनि ट्रम्पमाथि आक्रमण भएको थियो । करिब ४०० फिट टाढाबाट प्रहार गरिएको गोली ट्रम्पको दाहिने कानको माथिल्लो भागमा लागेको थियो । घटनामा एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका थिए भने सुरक्षाकर्मीले आक्रमणकारीलाई घटनास्थलमै ढालेका थिए ।

अनुसन्धान जारी

हालको घटनाको उद्देश्य र पृष्ठभूमि खुलिसकेको छैन । सुरक्षा निकायहरूले सन्दिग्धको पहिचान, सम्भावित सम्बन्ध र आक्रमणको उद्देश्यबारे अनुसन्धान गरिरहेका छन् । ह्वाइट हाउस वरपरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

Back to top