वीरगञ्ज । औषधी आपूर्ति र व्यवस्थापनमा देखिएका विद्यमान असहजता हटाउन र यसका समस्याहरूको दीर्घकालीन समाधान पहिल्याउन औषधि व्यवस्था विभाग र मन्त्रालयका प्रतिनिधिबीच विशेष छलफल भएको छ।
बुधबार भएकाे बैठकमा विभिन्न माध्यमबाट प्राप्त भएका क्यान्सर विरुद्धका औषधि तथा इम्युनोसप्रेसेन्ट जस्ता संवेदनशील औषधीको आपूर्तिमा देखिएका समस्या, तिनको वास्तविक अवस्था र समाधानका उपायहरूबारे विस्तृत रूपमा छलफल भएकाे छ।
छलफलका क्रममा औषधि आपूर्तिको अनुमति पाएर पनि समयमै आपूर्ति नगर्ने आपूर्तिकर्ताहरूका विरुद्ध कसरी कानूनी वा व्यावहारिक रूपमा अगाडि बढ्ने भन्नेबारे सम्भावित सबै विकल्पहरूमाथि समीक्षा गरिएको छ।
यसैगरी, बजारमा औषधिको उपलब्धता चुस्त राख्नका लागि जीवनरक्षक औषधि आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, विगत ३ वर्षको आयातको परिमाण, ती औषधिको वार्षिक खपत विवरण र नयाँ आपूर्तिका लागि अनुमति माग गर्दै परेका निवेदनहरूको सम्पूर्ण विवरण तत्काल उपलब्ध गराउन औषधी व्यवस्था विभागलाई निर्देशन समेत दिइएको छ।
बैठकमा प्राविधिक सुधारलाई पनि प्राथमिकता दिइएको छ, जसअन्तर्गत औषधि व्यवस्था विभागसँग सम्बन्धित सफ्टवेयरको सुधार तथा क्षमता विस्तार गर्ने र विभागको वेबसाइटमा रहेका सूचना तथा विवरणहरूलाई नियमित रूपमा अद्यावधिक गर्ने विषयमा छलफल केन्द्रित भएको थियो।