×

वीरगञ्ज । मधेस प्रदेशका निलम्बित सांसद तथा पूर्व राज्यमन्त्री सरोजकुमार सिंहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले मङ्गलवार सिंहलाई ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तिर्ने आदेश समेत दिएको हो । त्यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम एक लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गर्न पनि आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिहरूसँग घुस लिएको प्रमाण फेला परेपछि सिंहलाई गत वर्ष पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनले सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन लिएको खुलासा भएको थियो । उक्त रकममध्ये ३८ लाख ५० हजार १३९ रुपैयाँ बराबरको भ्रष्टाचार रकम उनको खातामै बरामद भएको अख्तियारले जनाएको थियो ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सिंह जनता समाजवादी पार्टी नेपालका नेता हुन् । उनीमाथि पदीय हैसियतको दुरुपयोग गरी उपभोक्ता समितिहरूसँग अवैध कमिसन लिएको अभियोग लागेको थियो ।

विशेष अदालतको फैसलासँगै उनी भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद र जरिवाना दुवै सजाय भोग्ने भएका छन् ।

Back to top