×

वीरगञ्ज । राष्ट्रिय एकता दलले स्थल सीमा नाकाबाट आवतजावत गर्ने नेपाली नागरिकका लागि लागू गरिएको भन्सार छुट सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्दै कम्तीमा ५ हजार रुपैयाँसम्मको भन्सार छुट उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

दलका अध्यक्ष विनय यादवद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले हालै निजी प्रयोगका वस्तुमा ५०० रुपैयाँसम्म भन्सार छुट दिने व्यवस्था गरेको भए पनि उक्त सीमा व्यवहारिक र पर्याप्त नभएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार यसअघि १०० रुपैयाँसम्मको भन्सार छुटको व्यवस्था रहेकामा व्यापक जनगुनासो र विरोधपछि सरकारले त्यसलाई बढाएर ५०० रुपैयाँ पुर्‍याएको थियो। तर वर्तमान आर्थिक अवस्था तथा सीमावर्ती क्षेत्रका नागरिकहरूको दैनिक आवश्यकता सम्बोधन गर्न यो व्यवस्था अझै अपर्याप्त रहेको दलको ठहर छ।

राष्ट्रिय एकता दलले नेपाल–भारतबीच रहेको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रका नागरिकहरू शिक्षा, स्वास्थ्य उपचार, व्यापारिक तथा पारिवारिक प्रयोजनका लागि नियमित रूपमा सीमा पार गर्ने यथार्थलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ।

दलले कम्तीमा ५ हजार रुपैयाँसम्मका निजी प्रयोगका सामानमा भन्सार महसुल छुट प्रदान गर्ने व्यवस्था गर्न माग गर्दै यस्तो निर्णयले सीमावर्ती नागरिकलाई राहत पुग्नुका साथै अनावश्यक झन्झट, विवाद तथा प्रशासनिक बोझसमेत कम हुने विश्वास व्यक्त गरेको छ।

विज्ञप्तिमार्फत दलले सीमावर्ती क्षेत्रका नागरिकका समस्या र आवश्यकतालाई केन्द्रमा राखेर व्यावहारिक, जनमैत्री तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरेको छ।

साथै, जनभावनाविपरीतका व्यवस्थालाई निरन्तरता दिइए नागरिकको अधिकार र हितको पक्षमा आवश्यक लोकतान्त्रिक आन्दोलन तथा संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दलले दिएको छ।

अध्यक्ष विनय यादवले सीमावर्ती क्षेत्रका नागरिकको हितलाई प्राथमिकतामा राखी भन्सार छुट सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्न सरकारसँग पुनः आग्रह गरेका छन्।

Back to top