वीरगञ्ज । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालमै अन्तिम वस्तु उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले मोटरसाइकलका पार्टपुर्जामा लाग्दै आएको भन्सार दर संशोधन गरेको छ । नयाँ भन्सार दर बजेट आएको भोलिपल्ट अर्थात् जेठ १६ देखि लागू भएको छ ।
नयाँ व्यवस्थाअनुसार नेपालमा एसेम्बल गरी तयार गरिने २०० देखि २५० सिसी क्षमताका मोटरसाइकलका पार्टपुर्जा आयातमा लाग्दै आएको ४० प्रतिशत भन्सार दर घटाएर ३० प्रतिशत कायम गरिएको छ । यसले मध्यम क्षमताका मोटरसाइकल एसेम्बल गर्ने उद्योगलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
तर, उच्च क्षमताका मोटरसाइकलका हकमा भने भन्सार दर बढाइएको छ । २५० देखि ४०० सिसी क्षमताका मोटरसाइकलका पार्टपुर्जामा यसअघि ७० प्रतिशत रहेको भन्सार दर १० प्रतिशत बिन्दुले बढाएर ८० प्रतिशत पुर्याइएको छ । ४०० देखि ५०० सिसी क्षमताका मोटरसाइकलका पार्टपुर्जामा पनि सोही अनुपातमा वृद्धि गर्दै ८० प्रतिशत भन्सार कायम गरिएको छ ।
सरकारको यस निर्णयले साना तथा मध्यम क्षमताका मोटरसाइकलको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र उच्च क्षमताका सवारीको आयात नियन्त्रण गर्ने सङ्केत दिएको विश्लेषण गरिएको छ ।
हाल नेपालमा रोयल इन्फिल्ड, होन्डा, यामाहा, हिरो, टीभीएस र बजाजजस्ता कम्पनीहरूले विदेशबाट पार्टपुर्जा आयात गरी स्वदेशमै एसेम्बल प्लान्टमार्फत अन्तिम उत्पादन तयार गर्दै आएका छन् । भन्सार दरमा गरिएको नयाँ व्यवस्थाले ती कम्पनीहरूको लागत संरचना र बजार मूल्यमा समेत प्रभाव पार्ने देखिएको छ ।