फाइल तस्बिर ।
वीरगञ्ज । बाराको पचरौता नगरपालिका–६ लक्ष्मीनियामा तीन वर्षअघि भारतीय नागरिक अजित कुमार सिंहको गोली हानी हत्या गरिएको घटनामा संलग्न एक जना अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारत बिहार राज्य मोतिहारी जिल्ला दर्पा थाना तिनकोनी पञ्चायतका ३० वर्षीय रञ्जित मुखिया बुधवार पचरौता–४ बेलदारीबाट पक्राउ परेका हुन् ।
अजित कुमार सिंहको २०८० असोज ८ गते नेपाल–भारत सिमानानजिकै लक्ष्मीनियास्थित पोखरीको डिलमा गोली हानी हत्या गरिएको थियो । यसअघि घटनामा संलग्न उनकी पत्नी सोनम सहनीलाई घटना भएको एक सातामै प्रहरीले पक्राउ गरिसकेको छ । सोनम भारत बिहार मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहियाकी बासिन्दा हुन् ।
प्रहरी अनुसन्धान अनुसार सोनमले आफ्ना प्रेमी सुजित कुमार सिंहसँग मिलेर अजितको हत्या गराएकी थिइन् । सुजितसहित चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी भने हालसम्म फरार रहेका छन् ।
नेपालमा ल्याएर हत्या गर्ने योजना
अनुसन्धानबाट खुलेअनुसार सोनम र सुजितले अजितलाई नेपालमा ल्याएर हत्या गरेमा पक्राउ पर्ने सम्भावना कम हुने ठानेर योजना बनाएका थिए । घटनाका दिन सुजितले अजितलाई मोटरसाइकलमा पछाडि राखेर सिमानानजिकै लक्ष्मीनियासम्म ल्याएका थिए । त्यहाँ पुगेपछि सुजितले अजितमाथि गोली प्रहार गरेका थिए । अर्को मोटरसाइकलमा आएका तीन जनाले घटनास्थलको पूर्वरेकी गरेका थिए । हत्या पश्चात् सुजितले सोनमलाई फोन गरेर ‘काम सम्पन्न भएको’ जानकारी दिँदै भाग्न भनेको प्रहरीले जनाएको छ । घटनाका बेला सोनम बाराको सिम्रौनगढ क्षेत्रमा बस्दै आएकी थिइन् ।
प्रेम सम्बन्धसँगै रकम विवाद
प्रहरीका अनुसार घटनाको कारण प्रेम सम्बन्ध मात्र नभई ठुलो रकमको विवाद पनि रहेको थियो । सुजित र अजित एउटै आपराधिक समूहका सदस्य रहेका थिए । करिब तीन वर्षअघि भारतको घोडासहन क्षेत्रमा सुन लुटपाट गरी उनीहरूले आठ लाख रुपैयाँ प्राप्त गरेका थिए । सो रकमबाट छौडादानोमा जग्गा प्लटिङमा लगानी गरिएको थियो । जग्गाको हिस्साबारे विवाद चर्किँदै जाँदा सुजितले आफ्नो प्रेम सम्बन्धमा रहेकी सोनमसँग मिलेर अजितको हत्या योजना बनाएको खुलेको छ ।
अन्य आपराधिक घटनामा समेत संलग्नता
उक्त समूह भारतको मोतिहारी जिल्ला दर्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्यामा समेत संलग्न रहेको प्रहरीको दाबी छ । साथै, २०७९ पुस ८ गते बाराको गढीमाई नगरपालिका–२ भुतही पुलमा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवको हत्या पनि यही समूहले गरेको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न प्रमोद रामलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
प्रहरीले फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ । पक्राउ परेका रञ्जित मुखियामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।