×

सांकेतिक तस्बिर ।

वीरगञ्ज । मुलुकको पश्चिमी क्षेत्र आसपास रहेको उपल्लो वायुमण्डलीय न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशभर मौसममा आंशिक बदलीको अवस्था रहे पनि तराई–मधेस क्षेत्रमा गर्मी बढ्ने सङ्केत देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस र कोसी प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ भने केही स्थानमा आंशिक बदली देखिएको छ । आज दिउँसो मधेस र कोसी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

यद्यपि, समग्रमा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । बढ्दो तापक्रमका कारण अत्यधिक गर्मी महसुस हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

आज राति मधेस र कोसी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

महाशाखाले विशेषगरी मधेस तथा कोसी प्रदेशका तराई क्षेत्रमा तापक्रम थप बढ्न सक्ने भएकाले दिउँसोको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ ।

Back to top