×

 इङ्ल्यान्डका कप्तान ह्यारी केनको दोस्रो हाफमा ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले स्टुटगार्टलाई ३–० ले स्तब्ध पार्दै जर्मन कपको उपाधि उचालेको छ।

बर्लिनको ओलम्पिया स्टाडियोनमा आइतबार राति भएको फाइनल खेलमा जित हात पार्दै भिन्सेन्ट कोम्पनीको टोलीले यस सिजनको लिग र कप जितेको हो। 

सन् २०२३ मा टोटनह्यामबाट बायर्न आएका केनका लागि यो सिजन ५१ खेलमा ६१ गोल गरे।  यो केनको लगातार दोस्रो खेलमा दोस्रो ह्याट्रिक हो।

केनले बायर्नमा आएपछि हालसम्म ४ वटा ट्रफी (२ बुन्डेसलिगा, १ जर्मन सुपरकप र १ जर्मन कप) जितिसकेका छन्। बायर्नले सन् २०१९–२० पछि पहिलो पटक यो कप जितेको हो।

पहिलो हाफमा स्टुटगार्टले कडा टक्कर दिए पनि गोल हुन सकेन। तर दोस्रो हाफमा बायर्न पूर्ण रूपमा हावी भयो।

खेलेको ५५ औं मिनेटमा माइकल ओलिसेको उत्कृष्ट क्रसलाई केनले ब्याक–पोस्ट मा टाउकोले प्रहार गर्दै गोलको खाता खोले। ओलिसेले यस सिजन ३० औँ असिस्ट पूरा गरे।

८०औं  मिनेटमा लुइस डियाजको पासलाई नियन्त्रणमा लिँदै केनले डिफेन्डरलाई छक्याएर उत्कृष्ट फिनिसिङ गरे।

इन्जुरी समयमा पेनाल्टीलाई गोलमा परिणत गर्दै केनले आफ्नो ह्याट्रिक पूरा गरे र जीत सुनिश्चित गरे।

Back to top