×

विश्वव्यापी प्रविधि कम्पनी मेटाले आफ्ना करिब १० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। यस कदमबाट करिब ८ हजार कर्मचारी प्रभावित हुने बताइएको छ।

रोयटर्सका अनुसार कर्मचारी कटौती प्रक्रिया बुधबारदेखि सुरु गरिएको हो र यसलाई तीन चरणमा सम्पन्न गरिनेछ। प्रभावित कर्मचारीहरूलाई स्थानीय समयअनुसार बिहान ४ बजेदेखि जानकारी दिन थालिएको जनाइएको छ।

हालसम्म कम्पनीको सत्यनिष्ठा टोली, जसले हानिकारक सामग्री तथा घृणात्मक अभिव्यक्ति हटाउने काम गर्छ, साथै साइबर सुरक्षा र सामग्री निर्माणसँग सम्बन्धित विभागका कर्मचारीहरू प्रभावित भएका छन्। यो जानकारी बिजनेस इन्साइडरले सार्वजनिक गरेको हो।

अमेरिकामा कार्यरत प्रभावित कर्मचारीहरूलाई १६ साताको बिदाइ सुविधा प्रदान गरिनेछ। साथै कम्पनीमा काम गरेको प्रत्येक वर्षका लागि थप दुई साताको तलब पनि दिइने मेटाले जनाएको छ।

ह्वाट्सएप, फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले ६ हजार नयाँ कर्मचारी भर्ना गर्ने योजना पनि रद्द गरेको छ। साथै करिब ७ हजार कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता सम्बन्धी भूमिकामा स्थानान्तरण गर्ने तयारी गरिएको छ।

मार्क जुकरबर्ग नेतृत्वको यस कम्पनीमा कर्मचारी मनोबल कमजोर हुँदै गएको चर्चा पनि सार्वजनिक भइरहेको छ। वाल स्ट्रिट जर्नलका अनुसार मेटाले आफ्नै कृत्रिम बुद्धिमत्ता मोडेल प्रशिक्षणका लागि कर्मचारीहरूको गतिविधि अनुगमन गर्ने कार्यक्रम सुरु गरेपछि विवाद बढेको हो।

रिपोर्टअनुसार १५ सयभन्दा बढी कर्मचारीले कम्पनीले आफ्ना डेटा संकलन नगर्न माग गर्दै निवेदनमा हस्ताक्षर गरेका छन्।

Back to top