×

वीरगञ्ज । गौरीकुमारी यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) वीरगञ्ज तथा वीरगञ्ज ड्राइपोर्ट को स्थलगत निरीक्षण गरेकी छन् ।

निरीक्षणका क्रममा मन्त्री यादवले आयात–निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया, पूर्वाधार व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे सम्बन्धित निकायका प्रतिनिधिसँग विस्तृत छलफल गरेकी थिइन् । छलफलमा भन्सार प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।

छलफलका क्रममा सवारीसाधन तथा मालवस्तु जाँच प्रक्रियालाई थप प्रभावकारी बनाउन आधुनिक एक्स–रे प्रणालीको आवश्यकता औंल्याइएको थियो । सहभागीहरूले सीमा नाकाबाट हुने व्यापारलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री प्रणाली विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी भन्सार प्रक्रियालाई छिटो, पारदर्शी तथा झन्झटरहित बनाउन डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विषयमा पनि ध्यानाकर्षण गराइएको थियो । व्यवसायी तथा सरोकारवालाहरूले सेवा प्रवाहमा सुधार, पूर्वाधार विस्तार तथा समन्वय अभावका समस्या समाधान गर्न सरकारको सक्रिय पहल आवश्यक रहेको बताएका थिए ।

अवलोकनपछि मन्त्री यादवले वीरगञ्ज आईसीपी र ड्राइपोर्ट नेपालको प्रमुख व्यापारिक नाका भएकाले यहाँको सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन मन्त्रालयले आवश्यक पहल गर्ने आश्वासन दिइन् । उनले व्यापार सहजीकरण, राजस्व व्यवस्थापन तथा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गरिने बताइन् ।

Back to top