हैदराबाद । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी बनाइएका नक्कली भिडियो र तस्बिरहरूलाई लिएर साउथ फिल्म उद्योगकी चर्चित अभिनेत्री रुक्मिणी वसन्त आक्रोशित बनेकी छन्।
सामाजिक सञ्चालनमा आफ्नो नाम जोडेर एआई–जनरेटेड तस्बिरहरू भाइरल भइरहेको भन्दै उनले यस्तो कार्य गर्ने र फैलाउनेहरू विरुद्ध कानुनी तथा साइबर क्राइम अन्तर्गत कडा कारबाही प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिएकी हुन्।
रुक्मिणीले शनिबार आफ्नो एक्स अकाउन्टमा एक नोट सेयर गर्दै यस विषयमा स्पष्ट पारेकी छन्। उनले लेखेकी छन्, ‘मेरो टिम र मैले सोसल मिडियामा एआई प्रविधिबाट बनाइएका केही तस्बिरहरू देखेका छौँ, जुन मेरा हुन् भन्दै दाबी गरिएको छ। म स्पष्ट पार्न चाहन्छु कि ती तस्बिरहरू पूर्ण रूपमा फर्जी र कृत्रिम हुन्। यस किसिमका सम्पादित तस्बिरहरू बनाउनु र फैलाउनु अत्यन्तै गैरजिम्मेवारपूर्ण कार्य हो। यो कसैको गोपनीयता वा प्राइवेसीको पनि ठूलो उल्लंघन हो।’
आफ्नो नोटमा उनले अगाडि लेखेकी छन्, ‘हामीले यस मामिलालाई निकै गम्भीरताका साथ लिएका छौँ। यस्ता सामग्री तयार पार्ने र यसलाई इन्टरनेटमा फैलाउनेहरू विरुद्ध कानुनी र साइबर क्राइम अन्तर्गत कारबाही सुरु गरिँदै छ। म सम्पूर्ण आम नागरिक तथा प्रशंसकहरूलाई यस्ता सामग्रीहरू सेयर नगर्न र बढावा नदिन अपिल गर्दछु।’
यसअघि पनि बलिउड र साउथका कयौँ चर्चित सेलिब्रेटीहरू एआई–जनरेटेड डिपफेक सामग्रीको सिकार भइसकेका छन्, जसमा रश्मिका मन्दना, कट्रिना कैफ र कीर्ति सुरेश जस्ता कहलिएका नामहरू सामेल छन्।
नक्कली तस्बिरको सिकार बनेकी रुक्मिणी वसन्त साउथ फिल्म इन्डस्ट्रीमा तीव्र गतिमा अगाडि बढिरहेकी अभिनेत्री हुन्। उनले कन्नड, तमिल र तेलुगु फिल्महरूमा आफ्नो बलियो पहिचान बनाएकी छन्। उनले सन् २०११ मा कन्नड फिल्म ‘बिरबल’ बाट चालेकी थिइन्।
तर उनलाई वास्तविक पहिचान भने सन् २०२३ मा प्रदर्शनमा आएको फिल्म ‘सप्त सागरदाचे एलो’ को दुवै भागबाट मिलेको हो। यस फिल्ममा उनको अभिनयलाई दर्शक र समीक्षकले निकै रुचाएका थिए भने उनले फिल्मफेयर क्रिटिक्स बेस्ट एक्ट्रेस अवार्ड समेत हात पारेकी थिइन्।
त्यसपछि उनले ‘बघिरा’, ‘भैरथी रानागल’ र तेलुगु फिल्म ‘अप्पुडो इप्पुडो एप्पुडो’ मा काम गरिन्। सन् २०२५ मा उनी तमिल फिल्महरू ‘ऐस’ र ‘मधरसी’ मा पर्दामा देखिएकी थिइन्। यस्तै रिलिज भएको ‘कान्तारा: च्याप्टर १’ उनको करियरको अहिलेसम्मकै सबैभन्दा ठुलो र सफल फिल्म सावित भएको छ।
रुक्मिणी आगामी दिनमा अभिनेता यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ मा पनि मुख्य भूमिकामा देखिँदै छिन्।