फाइल तस्बिर ।
वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाहले मङ्गलवार नेपालस्थित युरोपेली सङ्घ (इयु)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त भेटघाट कार्यक्रम तय गरिएको छ ।
भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको वर्तमान प्राथमिकताका विषयमा जानकारी गराउनेछन् । साथै, नेपाल र युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी सहकार्यका विविध आयामहरूबारे छलफल केन्द्रित हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
यसअघि चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए ।
सो भेटमा सहभागी कूटनीतिज्ञहरूले नेपालको नयाँ सरकारको कार्यदिशाबारे जिज्ञासा राखेका थिए भने प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र सन्तुलित वैदेशिक सम्बन्ध आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।