×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मङ्गलवार पहिलो क्वालिफायरको खेल हुँदै छ ।

प्रतियोगिताको पहिलो क्वालिफायरमा मङ्गलवार रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने भएको छ। पहिलो क्वालिफायरको खेल भारतको धर्मशाला मैदानमा मङ्गलवार राति पौने ८ बजेदेखि सुरु हुने भएको छ। दुवै टोली फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका हुन् ।

आरसीबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अङ्कका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । समान खेलमा समान अङ्क जोडेको गुजरात रन रेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भिड्न लागेको हो ।

आइपिएल अन्तर्गत बुधवार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुने भएका छन् । इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउने भएको हो ।

इलिमिनेटरमा पराजित टिम भने प्रतियोगिताबाट बाहिरिने छ । आइपिएल क्रिकेटको फाइनल भिडन्त भने यही जेठ १७ गते आइतबार हुने भएको हो ।

Back to top