×

वीरगञ्ज । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुहिदिने भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ र १९ गते (मे १–२) भारत जाने र २० गते स्वदेश फर्कने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस. जयशंकर तथा भाजपा अध्यक्ष नितिन नवीनसँग शिष्टाचार भेट गर्ने तयारी रहेको स्रोतहरूले बताएका छन् । उनले भाजपा मुख्यालयको अवलोकन गर्नुका साथै अध्यक्ष नवीनसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा, निकिता पौडेल लामिछाने र स्वकीय सचिव अविनाश आचार्य सहभागी रहनेछन् ।

रास्वपा विदेश विभाग प्रमुख बोहराले भ्रमण उच्चस्तरीय भेटघाटका लागि तय भएको जानकारी दिएका छन् । भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सहकार्य, क्षेत्रीय राजनीति तथा आपसी सम्बन्धका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यद्यपि, लामिछानेको भ्रमणबारे सरकार भने औपचारिक रूपमा अनभिज्ञ देखिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले भ्रमण पार्टीको तर्फबाट हुन लागेको भन्दै प्रधानमन्त्री वा सरकारसँग प्रत्यक्ष सम्बन्ध नभएको प्रतिक्रिया दिएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री विदेश भ्रमणमा नरहेको र सरकार हाल १०० दिने कार्य योजनामा केन्द्रित रहेको बताए ।

यस विषयले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी जन्माएको छ । कतिपयले सत्तारूढ दलकै सभापतिको उच्चस्तरीय भारत भ्रमणबारे सरकार अनभिज्ञ रहनु अस्वाभाविक भएको टिप्पणी गरेका छन् भने अर्कातर्फ यसलाई पार्टी स्तरको कूटनीतिक पहलका रूपमा पनि हेरिएको छ ।

छिमेकी भारतसँगको सम्बन्ध सन्तुलनका सन्दर्भमा लामिछानेको भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमणले दुई देशबिचको राजनीतिक संवादलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Back to top