वीरगञ्ज । नेपाली महिला क्रिकेट टोलीले बुधवार एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनको सामना गर्दै छ ।
मलेसियामा मङ्गलवार सुरु प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको थियो ।
इन्डोनेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८२ रन बनायो । त्यसलाई चीनले १९.५ ओभरमै पूरा गरेको थियो । नेपाल समूह ‘बी’ मा चीन र इन्डोनेसियासँगै छ । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ ।
नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा विजय हात पारेको छ । सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन पहिलो पटक भेट्न लागेका हुन् ।
समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । विजेताले फाइनल खेल्नेछन् भने सेमिफाइनल पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्ने छ ।
शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदलाई छानिनेछ ।