वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो सिजन फाइनलमा स्थान सुरक्षित गरेको छ ।
धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) मैदानमा मङ्गलवार राति सम्पन्न खेलमा आरसीबीले कीर्तिमानी प्रदर्शन गर्दै उपाधिनजिकको यात्रा तय गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल तयार पारेको थियो । यो आइपिएल प्लेअफ इतिहासकै सबैभन्दा ठुलो स्कोर हो । कप्तान रजत पाटीदारले ३३ बलमा ५ चौका र ९ छक्काको मद्दतले अविजित ९३ रनको विस्फोटक इनिङ खेल्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए ।
उनीसँग क्रुणाल पाण्ड्याले २८ बलमा ४३ रन जोड्दै महत्त्वपूर्ण साझेदारी गरे । विराट कोहलीले २५ बलमा ४३ रन तथा देवदत्त पडिक्कलले ३० रनको योगदान दिए । अन्तिमतिर जितेश शर्माले ५ बलमा अविजित १५ रन थप्दै टोलीलाई २५० रन पार गराए । गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले २–२ विकेट लिए ।
२५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरातको सुरुवात निकै कमजोर रह्यो । कप्तान शुभमन गिल २ रनमै आउट भए भने साई सुदर्शन १४ रनमा पेभेलियन फर्किए । जोस बटलरले ११ बलमा २९ रन बनाउँदै केही आशा जगाए पनि टोली निरन्तर दबाबमा रह्यो ।
राहुल तेवाटियाले ४३ बलमा ८ चौका र ४ छक्कासहित ६८ रनको संघर्षपूर्ण इनिङ खेले पनि अन्य ब्याटरले साथ दिन सकेनन् । गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट भयो ।
आरसीबीका लागि ज्याकब डफीले ३ विकेट लिए भने क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार र रसिक सलामले समान २–२ विकेट लिए ।
जित रनको आधारमा आइपिएल प्लेअफ इतिहासकै दोस्रो ठुलो जित हो । साथै, आरसीबी पाँचौँ पटक आइपिएल फाइनलमा पुगेको छ । पराजित गुजरातले भने अब एलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनल प्रवेशको अर्को अवसर पाउनेछ ।
एलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बुधवार साँझ ७:४५ बजे चण्डीगढमा आमनेसामने हुँदै छन् ।