×

वीरगञ्ज । नेपाली काँग्रेसले ममता शर्मालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । पार्टी सभापति गगन थापाले मङ्गलवार शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले दिएका छन् ।

बाराकी शर्मा गत फागुन ६ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेकी थिइन् । उनी रास्वपाको मधेस प्रदेशकी संस्थापक सभापति समेत रहिसकेकी थिइन् । फागुनमा सम्पन्न चुनाव पार्टीले उनलाई टिकेट नदिएपछि उनले रास्वपा छाडेर काँग्रेस रोजेकी थिइन् ।

नेपाली काँग्रेसको विधानअनुसार सभापतिलाई केन्द्रीय कार्यसमितिमा निश्चित सङ्ख्या मनोनयन गर्ने अधिकार छ । सोही अधिकार प्रयोग गर्दै सभापति थापाले शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । कांग्रेसले पछिल्लो समय सङ्गठन सुदृढीकरण र प्रदेश स्तरमा प्रभाव विस्तार गर्ने रणनीतिअनुसार विभिन्न क्षेत्रका नेताहरूलाई समेट्दै आएको छ ।

शर्माको मनोनयनलाई मधेस प्रदेशमा पार्टीको सङ्गठन मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ । उनी मधेस क्षेत्रको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन् ।

यससँगै नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा सदस्य सङ्ख्या थपिएको छ भने मधेस प्रदेशबाट प्रतिनिधित्व पनि बलियो बनेको पार्टी स्रोतले जनाएको छ ।

Back to top