×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टीभित्रको विवाद थप चर्किएको छ । स्वर्णकारले आफू पार्टी नछोड्ने बरु अन्तिमसम्म सङ्घर्ष गर्ने बताएका छन् ।

२०७९ भदौ २९ गतेदेखि बारा जिल्लाको संस्थापक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका स्वर्णकारले पार्टीभित्र टिकट वितरणमा अनियमितता, विधि–विधान उल्लङ्घन तथा सङ्गठन कब्जा गर्ने प्रयास भएको आरोप लगाएका छन् । उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको दाबी समेत गरेका छन् ।

स्वर्णकारका अनुसार बाराबाट प्रतिनिधिसभामा निर्वाचित चारै जना सांसदसँग पछिल्लो समय विवाद बढ्दै गएको थियो । यही विवादका बिच जेठ १० गते आयोजित विस्तारित बैठकमा सांसदहरूलाई कार्यकर्ताले कार्यक्रम स्थलबाट बाहिरिन बाध्य बनाएका थिए ।

उनले उम्मेदवारबाट आवेदन शुल्क उठाएर टिकट वितरणमा अपारदर्शिता भएको आरोप लगाउँदै उक्त रकम फिर्ता गर्न माग गरेका छन् । साथै बारा जिल्लामा पार्टी सङ्गठन आफूहरूले निर्माण गरेको दाबी गर्दै आवश्यक परे समानान्तर समिति गठन गरेर अघि बढ्ने चेतावनी दिएका छन् ।

स्वर्णकारले पार्टीको विधानअनुसार ‘राइट टु रिकल’ अभियान सञ्चालन गर्ने तयारी भइरहेको पनि बताएका छन् । उनका अनुसार पार्टीभित्र विधि र पारदर्शिताको माग उठाउँदा आफूलाई योजनाबद्ध रूपमा कारबाही गरिएको हो ।

यता रास्वपाका सांसदहरूले भने सङ्गठनलाई व्यवस्थित बनाउने क्रममा आवश्यक निर्णय गरिएको बताएका छन् । पार्टीभित्रको विवादले बारा जिल्लामा रास्वपाको आन्तरिक राजनीति थप तातेको देखिएको छ ।

Back to top