×

वीरगञ्ज । वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयले मधेस प्रदेश क्रिकेट सङ्घद्वारा आयोजित ‘सहिद कप मधेस महिला क्रिकेट लिग २०८३’ का विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । विद्यालयले एक विशेष कार्यक्रमको आयोजना गरी विजेता खेलाडीहरूलाई सम्मान पत्र तथा खादा प्रदान गर्दै भव्य रूपमा सम्मान गरेको हो ।

विद्यालयकी कार्यकारी निर्देशक परीक्षा प्रिया लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनीष सिंह प्रमुख अतिथिको रूपमा सहभागी रहेका थिए । कार्यक्रममा विद्यालयका निर्देशक सोनम लामा, प्रधानाध्यापक गणेश क्षेत्री, रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, सिपेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मनीष सिंहले महिला क्रिकेटको विकासका लागि यस्ता सम्मान तथा प्रोत्साहनात्मक कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए । उनले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणकै कारण मधेस प्रदेशमा महिला क्रिकेटले नयाँ उचाइ हासिल गरिरहेको उल्लेख गरे । आगामी दिनमा पनि खेलाडीहरूलाई निरन्तर मेहनत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको नाम उज्ज्वल बनाउन आग्रह गरे ।

सिंहले विद्यालयले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै खेलाडीहरूको मनोबल बढाउने कार्य गरेकोमा प्रशंसा समेत व्यक्त गरे । “खेलाडीहरूको सम्मानले उनीहरूमा अझ बढी आत्मविश्वास र ऊर्जा थपिन्छ,” उनले भने ।

कार्यक्रममा बोल्दै अध्यक्ष परीक्षा प्रिया लामाले खेलकुदले विद्यार्थीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले अध्ययनसँगै खेलकुदलाई पनि विद्यालयले विशेष प्राथमिकतामा राख्दै आएको जानकारी दिँदै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सदैव प्रोत्साहन गरिने बताइन् ।

खेलाडीहरूले प्रदर्शन गरेको उत्कृष्ट उपलब्धि, समर्पण तथा खेल भावनाको कदर एवं प्रोत्साहन गर्ने उद्देश्यले उक्त सम्मान कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

Back to top