×

वीरगञ्ज । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै अध्यक्ष साम्पाङले नियमावलीको नियम १५(२) अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई जबाफदेही बनाउन सभामुखसँग माग गरेका थिए । उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसकिए नियमावलीको नियम ३१(१) लागू गरी आफूलाई सदनबाट निष्कासन गर्नसमेत अनुरोध गरेका थिए ।

साम्पाङको धारणा सुनेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको उपस्थितिसम्बन्धी मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनलाई बस्न आग्रह गरेका थिए । सभा सञ्चालनका विषयमा सभामुखलाई निर्देशन दिने अभ्यास नरहेको उल्लेख गर्दै उनले नेपालको संविधान, कानुन र ऐनअनुसार आवश्यक निर्णय लिने जिम्मेवारी सभामुखकै भएको स्मरण गराएका थिए ।

तर प्रधानमन्त्रीको उपस्थितिबारे सभामुखले स्पष्ट रुलिङ नगरेपछि अध्यक्ष साम्पाङले बैठक बहिष्कार गरेका हुन् । यद्यपि, श्रम संस्कृति पार्टीका अन्य सांसदहरूले भने बैठक बहिष्कार नगरी सहभागिता जनाएका थिए ।

घटनाले प्रतिनिधिसभाभित्र प्रधानमन्त्रीको जबाफदेहिताको विषयलाई लिएर राजनीतिक बहस तीव्र हुने सङ्केत देखिएको छ ।

Back to top