वीरगञ्ज । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आफ्नो दोस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । उक्त जितसँगै नेपाल १ खेलबाट २ अङ्क जोड्दै समूहको शीर्षस्थानमा रहेको छ ।
इन्डोनेसिया भने आफ्नो पहिलो खेलमा चीनसँग ३ विकेटले पराजित भएको थियो र अङ्कविहीन अवस्थामा रहेको छ । आजको खेलमा इन्डोनेसिया पनि फराकिलो अन्तरले जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ ।
नेपालले आज इन्डोनेसियालाई पराजित गर्न सके लगातार दोस्रो जितसहित समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो हुनेछ । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।