एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । बंगलादेश र भारतले अनलाइन जुवा (बेटिङ) माथि कडा प्रतिबन्ध लगाएपछि त्यसमा संलग्न गिरोह नेपाल प्रवेश गरेर खुलेआम अनलाइन जुवा सञ्चालन गरिरहेको आरोप सार्वजनिक भएको छ। स्रोतका अनुसार नेपालमा अनलाइन माध्यमबाट दैनिक ५० करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार भइरहेको दाबी गरिएको छ।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा युट्युबमार्फत विभिन्न बेटिङ एपको खुलेआम प्रचार भइरहे पनि सम्बन्धित निकाय प्रभावकारी नियन्त्रणमा असफल भएको आरोप लागिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले केही वेबसाइट तथा एप बन्द गरेको जनाएको भए पनि नयाँ नाममा पुनः सञ्चालन भइरहेको बताइन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने नीति अघि सारेको थियो। साथै, अवैध अनलाइन जुवा नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रविधियुक्त बनाउन बजेटसमेत छुट्याइएको थियो। तर हालसम्म ठूला गिरोह पक्राउ पर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको छ।
भारत र बंगलादेशमा कडा कानुनी कारबाहीपछि भारतीय तथा चिनियाँ गिरोह नेपाल आएर अनलाइन बेटिङ सञ्चालन गरिरहेको दाबी गरिएको छ। काठमाडौंका ठमेल र बौद्ध क्षेत्रमा कोठा भाडामा लिएर अनलाइन जुवा सञ्चालन भइरहेको सूचना सुरक्षा निकायसम्म पुगेको बताइएको छ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार जुवा खेल्नु वा खेलाउनु दण्डनीय अपराध भए पनि सामाजिक सञ्जालमार्फत प्रहरी प्रशासनबाट अनुमति प्राप्त भएको दाबी गर्दै सर्वसाधारणलाई झुक्याएर बेटिङ एप प्रचार भइरहेको देखिन्छ।
स्रोतका अनुसार ई–सेवा, खल्ती, फोनपे र कनेक्ट आईपीएसजस्ता डिजिटल माध्यम प्रयोग गरी ठूलो रकमको कारोबार भइरहेको छ। पछिल्लो समय भारतमा जारी आईपीएल क्रिकेटलाई लक्षित गर्दै नेपालमा पनि अनलाइन सट्टेबाजी बढेको बताइएको छ।
यसरी अनलाइन जुवाको अवैध कारोबार बढ्दै जाँदा नेपाली युवापुस्ता यसको कुलतमा फस्ने जोखिम बढेको भन्दै सरोकारवालाले तत्काल कडा नियन्त्रणको माग गरेका छन्।