×

वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्सा शाखाद्वारा स्थापना गरिएको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार–२०८३’ बाट कारोबार दैनिकका वीरगञ्ज संवाददाता निरज पिठाकोटे मगर सम्मानित भएका छन्।

त्यसैगरी, यस वर्षको ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०८३’ युवा पत्रकार बलिराम यादवलाई प्रदान गरिएको छ। पुरस्कृत दुवै पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी, एकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायतले जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेका थिए।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले नेपाली पत्रकारिता राज्यसत्ताको कोपभाजनमा पर्ने गम्भीर जोखिममा रहेको बताएका छन्। जनताको आवाज मुखरित गर्ने तथा लोकतन्त्रको पहरेदारी गर्ने पत्रकारिता क्षेत्रलाई कमजोर बनाउन सरकारले विभिन्न स्रोत र माध्यममा नाकाबन्दी गर्ने प्रयास गरिरहेको आरोप उनले लगाए।

क्रान्तिकारी पत्रकार तथा सहिद कृष्णसेन इच्छुकको स्मरण गर्दै अध्यक्ष गिरीले गणतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा निर्भीक आवाज उठाएकै कारण तत्कालीन राज्यसत्ताले इच्छुकको हत्या गरेको उल्लेख गरे। बदलिँदो परिस्थितिमा अझ निडर, व्यावसायिक र निष्पक्ष पत्रकारिताको आवश्यकता बढ्दै गएको उनको भनाइ थियो।

देशभरका सञ्चारमाध्यम आर्थिक सङ्कटबाट गुज्रिरहेको अवस्थामा तिनको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरणका लागि राज्यले अनुकूल नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए। साथै, प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई दिँदै श्रमजीवी पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पत्रकार संगठनहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विजय भण्डारी, पर्सा अध्यक्ष निरञ्जन मिश्र, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियार लगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित भुजेलले गरेका थिए।

Back to top