मुम्बई । बलिउडकी स्थापित अभिनेत्री माधुरी दीक्षित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको गलत प्रयोग अर्थात् ‘डिपफेक’ को शिकार बनेकी छन् । पछिल्लो समय सामाजिक सञ्जालमा माधुरी दीक्षितको भन्दै एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसमा उनी एउटा रिभिलिङ कालो रङको पहिरनमा देखिएकी छन् ।
सो भिडियो सार्वजनिक भएपछि कयौँ प्रयोगकर्ताहरूले उनको कपडा र पहिरनलाई लिएर विभिन्न नकारात्मक टिप्पणीहरू गर्न सुरु गरेका थिए । तर, उक्त भिडियो पूर्ण रूपमा नक्कली रहेको तथ्य बाहिर आएको छ । भारतीय पत्रकार जयदीप पाण्डेले सामाजिक सञ्जालमा दाबी गर्दै उक्त भिडियो एआईको सहयोगले तयार पारिएको नक्कली भिडियो भएको स्पष्ट पारेका छन् ।
कयौँ प्रयोगकर्ताहरूले यो भिडियोलाई लगातार सेयर गरेपछि सामाजिक सञ्जाल एक्सले एक प्रयोगकर्ताको पोस्टमा कम्युनिटी नोट जारी गर्दै यो भिडियो पूर्ण रूपमा एआईको मद्दतले तयार पारिएको र भ्रामक रहेको प्रमाणित गरिदिएको छ ।
पछिल्लो समय कला क्षेत्रका धेरै चर्चित सेलिब्रेटीहरू एआई–जनरेटेड फेक सामग्रीको शिकार भइरहेका छन् । यसअघि अभिनेत्रीहरू रश्मिका मन्दना, कट्रिना कैफ र कीर्ति सुरेश पनि यस्तै डिपफेक भिडियोको चपेटामा परिसकेका छन् । हालै मात्र दक्षिण भारतीय चलचित्रकी अभिनेत्री रुक्मिणी वसन्तले पनि आफ्नो नाममा एआईबाट बनाइएका नक्कली तस्बिर र भिडियोहरू भाइरल भएपछि आक्रोश व्यक्त गरेकी छन् ।
यसअघि सन् २०२३ को नोभेम्बर महिनामा साउथ अभिनेत्री रश्मिका मन्दनाको एउटा डिपफेक भिडियो सार्वजनिक हुँदा विश्वभर यस प्रविधिको दुरुपयोगबारे ठुलो बहस सुरु भएको थियो । सो भिडियोमा रश्मिका कालो रङको कपडामा लिफ्ट भित्र पस्दै गरेको देखिएकी थिइन् ।
अनुसन्धानका क्रममा उक्त मूल भिडियो बेलायती–भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर जारा पटेलको भएको खुलेको थियो । एआई डिपफेक प्रविधिको प्रयोग गरेर जाराको अनुहार हटाएर रश्मिकाको अनुहार जोडिएको थियो ।