×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वीरगञ्ज महानगरपालिकाको प्रथम अधिवेशनमा समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

वीरगञ्जको बसपार्कस्थित होटेल सोल्टी गार्डेनमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा समाचार सङ्कलन गर्न पुगेका पत्रकारहरूलाई कार्यक्रम स्थलमा प्रवेश गर्न नदिइएको बताइएको छ । प्रवेशमा रोक लगाएपछि त्यहाँ उपस्थित पत्रकारहरूले रास्वपाका सांसद हरि पन्तसमक्ष गुनासो समेत राखेका थिए ।

पत्रकारहरूलाई किन प्रवेश गर्न दिइएन भन्ने विषयमा पार्टीका आयोजक पक्षबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन । घटनापछि पत्रकारहरूबिच अधिवेशनजस्तो सार्वजनिक राजनीतिक कार्यक्रममा सञ्चारकर्मीमाथि लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि देखिएको थियो ।

यता, रास्वपाको वीरगञ्ज महानगरपालिकाको प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । महानगर अध्यक्ष पदका लागि अमन आलम र दीपराज पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।

अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी पार्टी सङ्गठनलाई थप सुदृढ बनाउने तयारी गरिएको रास्वपाले जनाएको छ । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेपछि नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने भएको छ ।

अधिवेशन तथा निर्वाचन प्रक्रियाप्रति पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको चासो बढेको छ ।

Back to top