वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विवाद कूटनीतिक छलफल र आपसी संवादमार्फत समाधान गरिने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि दुवै देशबिच निरन्तर प्रयास भइरहेको जानकारी दिएका हुन् । उनले सीमा क्षेत्रका विषयमा वस्तुगत अध्ययन र द्विपक्षीय छलफल आवश्यक रहेको उल्लेख गरे ।
प्रधानमन्त्री शाहले नेपालले मात्र नभई भारतले पनि केही क्षेत्रमा सीमा सम्बन्धी दाबी राखेको विषय आफूले प्रधानमन्त्री बनेपछि थप जानकारी पाएको बताए । “म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,” उनले भने, “यो विषयमा दुवै पक्ष बसेर विस्तृत रूपमा अध्ययन र छलफल गर्नुपर्छ ।”
उनले लिपुलेक, लिम्पियाधुरा लगायतका विवादित क्षेत्रबारे नेपाल सरकारले भारतलाई पठाएको पत्रको जवाफ प्राप्त भएको जानकारी दिँदै यस विषयमा दुवै देशबिच औपचारिक वार्ताको तयारी भइरहेको बताए ।
“भूमि सम्बन्धी विषयमा टेबल टक गर्ने सहमति भएको छ,” प्रधानमन्त्री शाहले भने, “यस विषयमा बेलायत सरकारसँग समेत कुराकानी गरेका छौँ । सीमा विवाद समाधानका लागि संवाद र कूटनीतिक पहल नै उचित माध्यम हो ।”
प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषय संवेदनशील भएकाले तथ्य, प्रमाण र कूटनीतिक समझदारीका आधारमा समाधान खोजिने बताए । उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सम्मान र सहकार्यका आधारमा सीमा विवाद टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।