वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा चौथो संस्करणको “प्रसौनी प्रिमियम लिग (पीपीएल) २०८३” क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । स्थानीय युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउने, नेतृत्व तथा अनुशासनको विकास गर्ने र सामाजिक सद्भाव तथा भाइचाराको भावना सुदृढ बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन वडा नम्बर २३ का वडा सदस्य लालबाबु यादवले गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुद युवाहरूको शारीरिक तथा मानसिक विकासको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताए ।
उनले खेलकुद क्षेत्रको विकास तथा प्रतिभावान् खेलाडीहरूको प्रोत्साहनका लागि वडा कार्यालयले आगामी दिनमा समेत आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
वडा नम्बर २३ को आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रसौनी लायन्स, रोयल्स च्यालेन्जर्स बैरिया, राइजिङ स्टार तथा सफु किंग्स गरी चार टोलीको सहभागिता रहेको छ। उपाधिका लागि टोलीहरूबिच प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक सुजित साहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपा एमालेका नेता भोला यादव, नेपाली काँग्रेसका नेता धुरुप यादव, वडा सदस्य कान्ति देवी, युवा समाजसेवी फैयाज अन्सारीलगायत स्थानीय अगुवा, खेलप्रेमी तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहका वक्ताहरूले खेलकुदलाई युवाहरूलाई दुर्व्यसन, हिंसा तथा अन्य नकारात्मक गतिविधिबाट टाढा राख्ने प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै स्वस्थ, सभ्य र अनुशासित समाज निर्माणमा यसको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
संयोजक साहका अनुसार फाइनल खेलबाहेक प्रतियोगिताका सबै खेल १६ ओभरमा सञ्चालन गरिनेछन् भने उपाधि भिडन्त २० ओभरको हुनेछ । प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक तथा दर्शकमैत्री बनाउन सम्पूर्ण तयारी पूरा गरिएको उनले जानकारी दिए ।
एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। स्थानीय युवाहरूको उत्साहजनक सहभागिता र दर्शकहरूको बाक्लो उपस्थितिबिच सुरु भएको प्रतियोगिताले प्रसौनी क्षेत्रमा क्रिकेट विकासलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए। आयोजकका अनुसार प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा क्षेत्रीय तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।