×

वीरगञ्ज । नेपाली काँग्रेसकी मुख्य सचेतक वासना थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मुख्य सचेतक थापाले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गरिन् ।

उनले “नेपालले भारतको कुन भूमि मिचेको हो?” भन्ने प्रश्न उठाउँदै प्रधानमन्त्रीको भनाइबारे स्पष्ट जानकारी दिनुपर्ने बताइन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई गम्भीर र आपत्तिजनक विषयको रूपमा व्याख्या गर्दै उनले त्यससम्बन्धी तथ्य र प्रमाण संसद् तथा जनतासमक्ष प्रस्तुत गर्न आग्रह गरिन् ।

मुख्य सचेतक थापाले दुई देशबिचको सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले पर्याप्त तथ्य र आधारबिना अभिव्यक्ति दिनु स्वीकार्य नहुने धारणा राखिन् । यदि प्रधानमन्त्रीको भनाइ सत्य हो भने त्यसको स्पष्ट आधार, प्रमाण र विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

उनले राष्ट्रिय हित र सीमासम्बन्धी विषयमा सरकार जिम्मेवार र स्पष्ट हुनुपर्ने बताउँदै संसद्लाई सही जानकारी उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

Back to top