वीरगञ्ज । पूर्व प्रधानमन्त्री झालनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा बोल्दै “नेपालले समेत भारतका जग्गा मिचेको” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी बताएका छन् । उनले यस्तो अभिव्यक्तिले देशभित्र र बाहिर रहेका नेपालीहरूको देशभक्तिपूर्ण भावनामाथि आघात पुगेको दाबी गरेका छन् ।
खनालले नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणविरुद्ध सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै हाल पनि देशमाथि अतिक्रमण भइरहेकै अवस्थामा त्यस्ता विषयलाई हलुका बनाउने गरी अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् । उनले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्ताबेजका आधारमा उक्त अभिव्यक्ति दिएको हो भन्ने प्रश्नसमेत उठाएका छन् ।
पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी नमागेसम्म विरोध र भर्त्सना जारी राख्न देशभक्त जनता तथा शक्तिहरूलाई आग्रह गरेका छन् । साथै, उनले उक्त अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरेका छन् ।
यस विषयमा प्रधानमन्त्री शाहको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।