वीरगञ्ज । महोत्तरीको सोनमा गाउँपालिकाको एक घरमा डकैती गर्न आएको समूहको प्रतिवाद गर्दा गोली लागेर एक दम्पती घाइते भएका छन् ।
मंगलबार राति सोनमा गाउँपालिका-३ खखना दक्षिणबारी टोलमा यो घटना भएको हो । ५/६ जनाको सङ्ख्यामा आएका लुटेराहरूको समूहले स्थानीय रामविश्वास यादवको घरमा प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेका थिए ।
घरभित्र छिरेका उनीहरूलाई देखेपछि रामविश्वासका ज्वाइँ २७ वर्षीय ईशवर यादव र उनकी २२ वर्षीय श्रीमती किरण यादवले प्रतिवाद गरेका थिए । त्यही क्रममा लुटेरा समूहले उनीहरूमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका श्रीमान्-श्रीमती दुवैलाई तत्कालै उद्धार गरी प्रारम्भिक उपचार गरी थप उपचारका लागि जनकपुर पठाइएको महोत्तरी प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले खानतलासी गर्दा एक थान गोलीको खोका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुलेको छैन । फरार रहेका उनीहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।