वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको उत्तरी सिमानामा रहेको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय गाडी (ईभी) लाई नियन्त्रणमा लिएको छ । ठुलो परिमाणमा भन्सार छली (राजस्व चुहावट) गरेर ती गाडीहरू नेपाल भित्र्याइएको बलियो आशङ्कामा सशस्त्र प्रहरीले बुधबार राति विभिन्न जिल्लाबाट एकसाथ ती गाडीहरू नियन्त्रणमा लिन सफल भएको हो ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) शैलेन्द्र थापाका अनुसार कोरोला नाका हुँदै पोखरातर्फ लैजाँदै गरेको अवस्थामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाका विभिन्न सडकखण्डबाट ती गाडीहरू नियन्त्रणमा लिइएका हुन् ।
एउटै नाकाबाट यति ठुलो सङ्ख्यामा भन्सार छलीका गाडीहरू भित्रिएको सूचना पाएपछि सशस्त्र प्रहरीले मातहतका विभिन्न युनिटहरूलाई ‘हाई अलर्ट’ मा राखेर अपरेसन चलाएको थियो। गाडी नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत, र नम्बर २४ कालिका गण कास्कीबाट ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।
सुरक्षा टोलीले जोमसोम–पोखरा सडकखण्डका विभिन्न विन्दुहरूमा आकस्मिक चेकपोस्ट खडा गरी रातभरि गरेको चेकिङका क्रममा ७७४ वटा गाडीहरूलाई रोकेर कागजात माग गरेको थियो । सो क्रममा भन्सार प्रक्रिया र राजस्व दाखिला सम्बन्धी कागजात शङ्कास्पद देखिएपछि ती सबै गाडीहरूलाई तत्काल नियन्त्रणमा लिइएको हो ।
यसैबिच, चीनसँगको अर्को उत्तरी नाका रसुवागढी हुँदै काठमाडौँतर्फ आउँदै गरेका गाडीहरूमाथि पनि सशस्त्र प्रहरीले निगरानी बढाएको छ। सोही क्रममा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत भन्सार प्रक्रिया नपुर्याई ल्याइएका थप २ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार नियन्त्रणमा लिइएका सबै ७७६ वटा विद्युतीय गाडीहरूलाई आवश्यक कानुनी कारबाही र विस्तृत अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालय तथा राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ ।
उत्तरी नाका खुला भएसँगै व्यावसायिक रूपमा गाडी आयात बढिरहेका बेला भएको यो अहिलेसम्मकै ठुलो परिमाणको बरामदगी हो। यस घटनाले नेपाल–चीन सीमा नाकाहरूमा भइरहेको सम्भावित राजस्व चुहावट र कूटनीतिक संयन्त्रको कमजोरीलाई लिएर नयाँ बहस सिर्जना गरिदिएको छ ।