वीरगञ्ज । काठमाडौँ महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका छन्।
कामपा सहकारी विभागका अनुसार पछिल्लो समय कामपामा बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको छ। कामपा सहकारी विकागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएको उजुरीको आधारमा भनिएको हो।
प्रमुख काफ्लेका अनुसार, यसरी माग दाबी गर्ने बचतकर्ताहरूमा रु एक लाख देखि पाँच लाखसम्मको रकम रहेका बढी छन्। उक्त रकम फिर्ताका लागि छ हजार ३०० बचत कर्ताले उजुरी दिएको प्रमुख काफ्लेले जानकारी दिए।
निवेदनका आधारमा उनले भने, “यसरी उजुरी दिनेमा दैनिक ५०० देखि एक हजारसम्म गर्ने अर्थात साना रकम जम्मा गर्ने बचतकर्ताहरूको सङ्ख्या बढी रहेको छ।”
कामपाका अनुसार उजुरी आएकामध्ये साना बचतकर्ताको सङ्ख्या ७८ प्रतिशत रहेको छ। उजुरीकै आधारमा कामपाले गत सोमवार र मङ्गलवार गरी बुद्ध दर्शन सेभङि एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।
कामपा–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले उक्त दिन एक लाख ५० हजारसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरूलाई बचत रकम फिर्ता गरेको हो।
सहकारीले आगामी १ महिनाभित्र पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ।