सांकेतिक तस्बिर ।
वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।
गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा २ अर्ब २४ करोड रुपैयाँ अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकि गत आवको १० महिनामा यहाँबाट १० अर्ब २१ करोड रुपैयाँ मूल्यका दलहन आयात गरिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताए । उनले यस अवधिमा ३ अर्ब २० करोड रुपैयाँ मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा ४ अर्ब ५० करोड रुपैयाँको मुसुरोको दाल आयात भएको थियो ।
यसैगरी चालु आवका १० महिनामा २ अर्ब ४ करोड रुपैयाँ मूल्य पर्ने सीमी/राजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने २ अर्ब ७४ करोडको रुपैयाँ सिमी/राजमा आयात भएको थियो ।
चालु आवको १० महिनामा १ अर्ब ९२ करोड रुपैयाँको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने २ अर्ब १७ करोड रुपैयाँको आयात भएको थियो ।
चालु आवको १० महिनामा ४२ करोड रुपैयाँको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा ४५ करोड ८८ लाख रुपैयाँको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।