×

वीरगञ्ज । चुरे क्षेत्रको विनाश, बढ्दो पानी संकट, मानव–वन्यजन्तु द्वन्द्व तथा प्राकृतिक स्रोतको दोहनले तराई–मधेसको भविष्य संकटमा पार्न सक्ने भन्दै सरोकारवालाहरूले संरक्षणका मुद्दालाई सञ्चार माध्यमले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका छन्।

बाराको सिमरामा आयोजित दुईदिने ‘सञ्चार र संरक्षण कार्यशाला’मा सहभागी विज्ञ, संरक्षणकर्मी तथा सञ्चारकर्मीहरूले चुरे संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीवनसँग संरक्षणको प्रत्यक्ष सम्बन्धबारे गम्भीर छलफल गरेका थिए।

कार्यशालामा नेपाल पत्रकार महासङ्घ नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले चुरे संरक्षणलाई मधेसको पानी र पर्यावरणीय सुरक्षासँग जोड्दै प्राकृतिक सम्पदाको दोहन रोक्न प्रभावकारी पहल आवश्यक रहेको बताए। सहभागीहरूले चुरे क्षेत्रको क्षयीकरणका कारण तराईका जिल्लाहरूमा पानीका मुहान सुक्दै गएको र त्यसको प्रत्यक्ष असर स्थानीयले भोगिरहेको उल्लेख गरे।

त्यस्तै, चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीलगायत सहभागीहरूले पानी संकट, मानव–वन्यजन्तु द्वन्द्व, रैथाने ज्ञान तथा संरक्षण क्षेत्रका सामाजिक प्रभावलाई तथ्यपरक रूपमा सञ्चार माध्यममा ल्याउनुपर्ने धारणा राखे। रौतहटका अध्यक्ष सञ्जय कार्कीले सामुदायिक वनको सबलीकरण र स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको बताए।

मकवानपुरकी पत्रकार सरिता दाहालले वन्यजन्तुबाट हुने क्षतिमा राहत तथा क्षतिपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। मधेस प्रदेश कार्यसमिति सदस्य साजिर मन्सुरले संरक्षण निकाय र सञ्चारकर्मीबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले वन, वातावरण र जलवायु परिवर्तनका मुद्दामा लेख्ने पत्रकारलाई प्रोत्साहन दिनुपर्ने सुझाव दिए। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज का प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले संरक्षण प्रयास र चुनौती जनस्तरसम्म पुर्‍याउन सञ्चारको भूमिका महत्वपूर्ण हुने बताए।

कार्यशाला WWF Nepal को सहकार्यमा तराई आर्क ल्याण्डस्केप एण्ड कन्जर्भेशन प्रोग्रामद्वारा आयोजना गरिएको हो। कार्यक्रममा डब्लुडब्लुएफ नेपालका विशेषज्ञहरूले भूपरिधि स्तरको संरक्षण, कार्यक्रमको प्रभाव र चुनौतीबारे प्रस्तुति दिएका थिए।

कार्यशालाको निष्कर्षमा सहभागी पत्रकारहरूले वन, वन्यजन्तु, जैविक विविधता, चुरे तथा वातावरणीय मुद्दालाई अझ प्रभावकारी र तथ्यमा आधारित ढङ्गले सञ्चार माध्यममार्फत उठाउने प्रतिबद्धता जनाएका छन्।

Back to top