वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ ज्योतिनगरस्थित लिटिल एन्जल बोर्डिङ स्कुलमा विद्यार्थीहरूले पहिलोपटक डिजिटल इलेक्ट्रोनिक प्रणालीमार्फत मतदान गरेका छन्। विद्यालयमा कक्षा १ देखि १० सम्मका करिब ३ सय विद्यार्थीहरूले मोबाइल प्रयोग गरी आफूले रोजेका उम्मेदवारलाई भोट दिएका हुन्।
विद्यालयका निर्वाचन अधिकृत तथा प्रिन्सिपल सन्नी पाख्रिङका अनुसार नेपालमै सम्भवत: पहिलोपटक विद्यालय स्तरमा डिजिटल इलेक्ट्रोनिक मोबाइल प्रणालीमार्फत निर्वाचन सम्पन्न गरिएको हो। विद्यार्थीहरूले हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन तथा खेलकुद संयोजक पदका उम्मेदवारहरूलाई डिजिटल माध्यमबाट मतदान गरेका थिए।
प्रिन्सिपल पाख्रिङले आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्याससँगै प्रविधिको ज्ञान प्रदान गर्ने उद्देश्यले यस्तो प्रणाली अपनाइएको बताए। उनका अनुसार यसले विद्यार्थीहरूमा प्रविधिमैत्री सोचको विकास गर्न मद्दत पुग्नेछ।
विद्यालयले निर्वाचनबाट निर्वाचित हेड गर्ल, हेड ब्वाय तथा हाउस क्याप्टेनहरूको शपथ ग्रहण कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ।
विद्यालयकी सञ्चालिका मिरा राईले डिजिटल मतदान प्रणालीबाट कुनै पनि मत खेर नजाने र मतको सही सदुपयोग हुने भएकाले यो प्रणाली प्रभावकारी तथा पारदर्शी रहेको बताइन्। उनले विद्यार्थीहरूले अनुशासित र शान्तिपूर्ण रूपमा मतदान गरेको उल्लेख गर्दै अन्य विद्यालयहरूले पनि यस्ता प्रविधिमैत्री अभ्यास अपनाउनुपर्ने धारणा व्यक्त गरिन्।
मतदान कार्यक्रममा सहायक निर्वाचन अधिकृत तीर्थनारायण यादव, आर्यन वर्णवाललगायतको उपस्थिति रहेको थियो।
विद्यालयमा गरिएको यो अभ्यासले विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रियाबारे व्यावहारिक ज्ञान दिलाउनुका साथै डिजिटल प्रविधिप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।