×

वीरगञ्ज । नेपाल सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा आर्थिक विधेयक (बजेट) को समीक्षा गर्ने उद्देश्यले वीरगञ्जमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) पर्सा शाखाले बुधवार वीरगञ्जस्थित टाउन हलमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नयाँ बजेटले ल्याएका आर्थिक प्रावधान र त्यसले पार्ने प्रभावबारे सरोकारवालाहरूलाई सुसूचित गराउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ पर्साका अध्यक्ष सीए. आनन्द तिवारीले कार्यक्रमको मुख्य उद्देश्यमाथि प्रकाश पारेका थिए ।

अध्यक्ष तिवारीले भने, "बजेटमार्फत परिवर्तन भएका कानुनी प्रावधान, नयाँ घोषणा गरिएका कर, हटाइएका करका दायरा, सरकारले उपलब्ध गराएका कर छुट र समग्रमा नयाँ कर नीतिले आम सर्वसाधारण, व्यवसायी र पेसाकर्मीहरूको दैनिक जीवन तथा व्यवसायमा पार्ने प्रभावबारे यथार्थ जानकारी गराउनु नै यस कार्यक्रमको मुख्य लक्ष्य हो ।" उनले सरकारको नीतिलाई सरल भाषामा बुझाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

बजेट समीक्षा कार्यक्रममा वीरगञ्ज र आसपासका क्षेत्रका स्थानीय व्यवसायी, उद्योगी, करदाता, उपभोक्ता, पेसाकर्मी र विभिन्न सार्वजनिक तथा सरकारी निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई पूर्ण रूपमा अन्तरक्रियात्मक ढाँचामा सञ्चालन गरिएको थियो । सो क्रममा सहभागी व्यवसायी तथा करदाताहरूले आगामी बजेट र करका नयाँ दर तथा नीतिबारे आफूलाई लागेका विभिन्न जिज्ञासा र प्रश्नहरू राखेका थिए । कार्यक्रममा उपस्थित चार्टर्ड एकाउन्टेन्ट तथा कर विज्ञहरूले सहभागीहरूका प्रश्नको सरल रूपमा जवाफ दिँदै बजेट तथा आर्थिक विधेयकका विषयमा रहेका दुविधा र भ्रमहरू स्पष्ट पारेका थिए ।

सरकारले ल्याउने बजेट र कर नीतिहरू प्रायः प्राविधिक हुने भएकाले सर्वसाधारण र व्यवसायीलाई बुझ्न कठिन हुने गर्छ । यस सन्दर्भमा एक्यान पर्साले आयोजना गरेको यस समीक्षा कार्यक्रमले स्थानीय करदाता र सरोकारवालाहरूलाई बजेटका प्रावधानहरू बुझेर आफ्नो व्यावसायिक तथा वित्तीय योजना तय गर्न सहज बनाएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।

 

Back to top