वीरगञ्ज । वीरगञ्जस्थित नेशनल एकेडेमी क्याम्पसले एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुन लागेका विद्यार्थीहरूका लागि पाँच दिने निःशुल्क विद्यार्थी विकास कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यार्थीहरूको क्षमता विकास, भविष्य योजना निर्माण तथा व्यक्तित्व अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ ।
कार्यक्रमको पहिलो दिन “आफ्नो भविष्य जान्ने” शीर्षकमा मधेस विश्वविद्यालयका डीन डा. अजय कुमार मिश्र र मधेस प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा. शिला मिश्रले प्रशिक्षण दिएका थिए । उनीहरूले विद्यार्थीहरूलाई भविष्य निर्माणका आधारहरू, उपयुक्त करियर छनोट, आत्मविश्वास विकास तथा लक्ष्य निर्धारणका विषयमा मार्गदर्शन प्रदान गरेका थिए ।
क्याम्पस व्यवस्थापनतर्फबाट प्रमुख केदार प्रसाद साह र इन्दु शेखर मिश्रले मन्तव्य राख्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
दोस्रो दिन विद्यार्थीहरूलाई वित्तीय साक्षरता र लगानीसम्बन्धी आधारभूत ज्ञान दिने उद्देश्यका साथ “शेयर बजार लगानीको ज्ञान” विषयमा नासा सेक्युरिटीजीको टोलीले प्रशिक्षण दिएको थियो ।
यसैगरी, कार्यक्रमअन्तर्गत बिहीबार तेस्रो दिन विभिन्न शीर्षकमा तालिम तथा प्रशिक्षण दिइएको छ । पहिलो चरणमा मानवस्रोत विशेषज्ञ अनिल जयसवालले वर्तमान अवस्थामा रोजगारीका लागि आवश्यक सीप र दक्षताको विषयमा जानकारी गराए । दोस्रो चरणमा अर्थविद् डा. इन्दु शेखर मिश्रले वर्तमान बजेटका प्रमुख पक्ष र त्यसले युवाहरूमा पार्ने प्रभावबारे प्रस्तुति दिए । तेस्रो चरणमा सञ्चारकर्मी सूर्य नारायण विश्वकर्माले “भाषण कलाको महत्त्व र आवश्यकता” विषयमा प्रशिक्षण दिँदै प्रभावकारी अभिव्यक्तिका सीपहरू सिकाए ।
कार्यक्रमको मनोरञ्जन सत्रमा प्रसिद्ध गीतकार सुरज राज पन्तले गीत प्रस्तुत गरी विद्यार्थीहरूलाई उत्साहित बनाएका थिए । कार्यक्रममा भोज भगत विद्यालयका प्रधानाध्यापक बलिराम सर्राफ, कलेज व्यवस्थापन पक्षका रवि कुमार साहलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको मस्यौदा तथा सञ्चालन काठमाडौँका प्रशिक्षक श्याम साहले गरेका थिए । क्याम्पसले कक्षा ११ को नियमित कक्षा सञ्चालन हुनुअघि भर्ना भएका विद्यार्थीहरूको समग्र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
कार्यक्रमको चौथो र पाँचौँ दिन विशेष सत्रहरू सञ्चालन गरिने र असारको पहिलो सातादेखि नियमित कक्षा सुरु हुने जानकारी व्यवस्थापन पक्षले दिएको छ ।