वीरगञ्ज । विश्व वातावरण दिवसको अवसरमा वीरगञ्जस्थित मितेरी पुल क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। वीरगञ्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर तथा सशस्त्र प्रहरीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको सन्देश दिएको छ।
स्वच्छ, हरित र वातावरणमैत्री सहर निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै मितेरी पुल आसपासको क्षेत्रको सरसफाइ गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, समाजसेवी, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसाल, सशस्त्र प्रहरी भन्सार गुल्मका डीएसपी विकास अधिकारी, सामुदायिक प्रहरीका पदाधिकारी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खेतानले वातावरण संरक्षणलाई वर्तमान समयको अपरिहार्य आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको साझा दायित्वका रूपमा लिनुपर्ने बताए। उनले जलवायु परिवर्तन, बढ्दो प्रदूषण तथा हरियाली क्षेत्रको घट्दो अवस्थाले मानव जीवनमा गम्भीर प्रभाव पारिरहेको उल्लेख गर्दै वातावरण जोगाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले प्रत्येक व्यक्तिले कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्ने संस्कृतिको विकास गर्न सके वातावरण संरक्षण अभियान प्रभावकारी बन्ने बताए। “हरियाली विस्तार गर्नु भनेको स्वस्थ, स्वच्छ र सुरक्षित भविष्यको आधार तयार गर्नु हो,” उनले भने, “यस्ता अभियान एक दिनमा सीमित नभई निरन्तर सञ्चालन हुन आवश्यक छ।”
खेतानले सामुदायिक प्रहरी, स्थानीय तह र नागरिक समाजबीचको सहकार्यले सामाजिक तथा वातावरणीय क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रम सम्पन्न भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४७औँ बटालियन, रक्सौलका प्रतिनिधिहरूलाई वातावरणीय सहकार्यको प्रतीकस्वरूप पाँच वटा बिरुवा हस्तान्तरण गरिएको थियो। नेपाल–भारत सीमावर्ती क्षेत्रमा हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणमा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले बिरुवा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वच्छ र हरित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।