×

एआइको सहयोगबाट तयार पारिएको साङ्केतिक तस्बिर ।

वीरगञ्ज । सामाजिक सञ्जालमार्फत चर्चामा आएको व्यङ्ग्यात्मक अभियान ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले आज नयाँदिल्लीस्थित जन्तर मन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध परीक्षा अनियमितताको आरोप लगाउँदै राजीनामा माग गर्नेछ । प्रदर्शनका लागि आवश्यक अनुमति लिइसकेको सिजेपीले जनाएको छ ।

प्रदर्शनमा सहभागी हुन पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट भारत आएका छन् । बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्के यसअघि आम आदमी पार्टीसँग राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आबद्ध थिए । उनले गत मे १६ मा व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ स्थापना गरेका हुन् ।

अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्य कान्तले आलोचनात्मक युवालाई ‘कक्रोच’ र ‘परजीवी’ भनेको टिप्पणीपछि सुरु भएको बताइएको छ । यद्यपि, उक्त टिप्पणी सन्दर्भबाट बाहिर लगिएको दाबी पनि गरिएको छ । त्यसपछि सामाजिक सञ्जालमा सुरु भएको अभियान छोटो समयमै व्यापक बनेको हो ।

सिजेपीले शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता र जबाफदेहिताको माग गर्दै आएको छ । डिप्केले एक्स (पूर्व ट्विटर) मा लेख्दै आफू कानुनी प्रक्रियामा विश्वास राख्ने बताउँदै समर्थकलाई अनावश्यक भीड नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा सिजेपीको प्रभाव उल्लेखनीय देखिएको छ । भारतमा यसको इन्स्टाग्राम खातामा दुई करोड २० लाखभन्दा बढी फलोअर्स रहेका छन्, जुन भारतीय जनता पार्टी (९० लाख) र काँग्रेस (एक करोड ३० लाख) भन्दा धेरै हो । कडा निगरानीका बिच केही ह्यान्डल अवरुद्ध गरिए पनि अभियानको लोकप्रियता बढ्दो छ ।

लद्दाखका शैक्षिक तथा वातावरण अभियन्ता सोनम वाङचुक पनि प्रदर्शनमा सहभागी हुने जनाइएको छ । सिजेपीले आजको विरोध शान्तिपूर्ण रहने दोहोर्‍याउँदै शिक्षा प्रणालीमा सुधारका लागि दबाब सिर्जना गर्ने जनाएको छ ।

Back to top