वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई चालु असार महिनाभित्रै ‘साक्षर महानगर’ घोषणा गर्ने तयारी गरिएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले महानगरका ३२ वडामध्ये २७ वडा साक्षर घोषणा भइसकेको र बाँकी पाँच वडा अन्तिम चरणमा रहेको जानकारी दिए ।
युवालयको आयोजनामा बुधवार वीरगञ्जस्थित होटेल वृन्दावनमा सम्पन्न ‘बाल अधिकार संरक्षण तथा संवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत व्यक्ति साक्षर भए पूर्ण साक्षर घोषणा गर्न सकिने मापदण्ड रहेको बताए । उनका अनुसार महानगरमा रहेका ८ सामुदायिक सिकाइ केन्द्रमध्ये ६ सक्रिय केन्द्रलाई परिचालन गरी साक्षरता घोषणाका लागि काम भइरहेको छ ।
“३२ मध्ये २२ वडा तोकिएको मापदण्डअनुसार साक्षर भइसकेका छन् भने ५ वडा अघिल्लो नगरप्रमुखको कार्यकालमै घोषणा भएका थिए,” लामिछानेले भने, “बाँकी पाँच वडा पनि प्रक्रियाको अन्तिम चरणमा छन् ।”
उनले महानगरले १० वर्षे शिक्षा योजना निर्माणको प्रक्रिया अघि बढाएको जानकारी दिँदै विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित भइरहेको स्वीकार गरे । साथै, पछिल्लो समय केही अनलाइन सञ्चारमाध्यमले बालबालिकाको पहिचान खुल्ने गरी सामग्री प्रकाशन गरेकोप्रति चिन्ता व्यक्त गर्दै बाल अधिकार, गोपनीयता र सम्मानलाई केन्द्रमा राखेर पत्रकारिता गर्न आग्रह गरे ।
कार्यक्रममा महिला विकास अधिकृत रञ्जना पण्डितले पालिकामा बाल उद्धार कोष स्थापना भए पनि जनप्रतिनिधिको असहयोगका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताइन् ।
शिक्षाका लागि राष्ट्रिय अभियानका अभियन्ता राम प्रवेश साहले बालबालिकाको अधिकार, नीतिगत व्यवस्था तथा मधेस प्रदेशको शिक्षा क्षेत्रका सूचकबारे प्रस्तुति दिएका थिए । “नीतिमा कमी छैन, तर कार्यान्वयन कमजोर छ,” उनले भने, “बाल अधिकार सुनिश्चित गर्न सञ्चारमाध्यम, स्थानीय सरकार, विद्यालय र अभिभावकबिच समन्वय आवश्यक छ ।”
छलफलका क्रममा सहभागी पत्रकारहरूले तथ्यमा आधारित, जिम्मेवार र बालमैत्री पत्रकारितामार्फत बाल अधिकार प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
युवालयका अविनाश कार्की, अर्जुन साह, नेपाल पत्रकार महासङ्घ पर्साका जिल्ला कार्यसमिति सदस्य तिवारी यादव लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा सहजीकरण युवालयका पर्सा प्रतिनिधि राहुल साहले गरेका थिए ।