×

वीरगञ्ज । वीरगञ्जस्थित ऐतिहासिक नारायणी रङ्गशाला तथा नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा कुल १५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तका अनुसार युवा तथा खेलकुद मन्त्रालयले नारायणी रङ्गशालाको स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ तथा नारायणी बहुउद्देश्यीय कभर्डहल निर्माण तथा विकासका लागि ५ करोड रुपैयाँ छुट्याएको छ ।

यसैगरी, पूर्वाधार विकास मन्त्रालयले नारायणी फुटबल रङ्गशालामा फ्लडलाइट जडान र मैदान स्तरोन्नतिका लागि थप ३ करोड रुपैयाँ विनियोजन गरेको छ । यससँगै तीन वटै शीर्षकअन्तर्गत कुल १५ करोड ५० लाख रुपैयाँ बजेट सुनिश्चित भएको हो ।

सांसद पन्तले सामाजिक सञ्जालमार्फत नारायणी रङ्गशाला सरकारको प्राथमिकतामा परेको उल्लेख गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग निरन्तर समन्वयपछि बजेट सुनिश्चित भएको बताएका छन् । नीति तथा कार्यक्रम र बजेट भाषणका क्रममा उठेका जिज्ञासाबारे आफूले पटक–पटक स्पष्ट पार्दै आएको र अन्ततः बजेट व्यवस्थापन भएको उनले जनाएका छन् ।

यसअघि आर्थिक वर्ष २०८२/८३ मा रङ्गशालाका लागि ४ करोड र कभर्डहलका लागि ४ करोड गरी ८ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर कार्यान्वयनमा ढिलाइ हुँदा सबै काम सम्पन्न हुन सकेको थिएन । चालु आर्थिक वर्षअन्तर्गत ‘ब्लक सी’ प्याराफिट पुनर्निर्माण कार्य सुरु भइसकेको छ ।

वि.सं. २०३८ सालमा निर्माण प्रक्रिया सुरु भई २०४२ सालमा उद्घाटन गरिएको नारायणी रङ्गशाला करिब ३५ हजार दर्शक क्षमता भएको देशकै दोस्रो ठुलो रङ्गशाला हो । मर्मत–सम्भार अभावमा जीर्ण बन्दै गएको यस रङ्गशालालाई पुनर्जीवन दिन स्थानीयवासी, खेलकर्मी र युवाहरूले लामो समयदेखि दबाब दिँदै आएका थिए ।

नयाँ बजेट व्यवस्थापनसँगै रङ्गशालामा फ्लडलाइट जडान, मैदान स्तरोन्नति र कभर्डहल पूर्वाधार विकासको कामले गति लिने अपेक्षा गरिएको छ । स्थानीय खेल प्रेमीहरूले विनियोजित बजेट पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गरी समयमै काम सम्पन्न गर्न सरकारसँग आग्रह गरेका छन् ।

बजेट सुनिश्चित भएसँगै नारायणी रङ्गशालालाई मधेस प्रदेशकै खेलकुद गतिविधिको प्रमुख केन्द्रका रूपमा पुनः स्थापित गर्ने लक्ष्यलाई थप बल पुगेको विश्वास गरिएको छ ।

Back to top