वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले वीरगञ्जका ऐतिहासिक तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि आम नागरिकलाई एकजुट हुन आह्वान गरेका छन् । वीरगञ्जको पहिचान र इतिहाससँग जोडिएका सार्वजनिक संरचनाहरूको संरक्षण र उचित व्यवस्थापनका लागि उनले नागरिक स्तरबाटै सामूहिक पहलको आवश्यकता औँल्याएका हुन् ।
सांसद पन्तले विशेष गरी वीरगञ्जको ऐतिहासिक टाउन हल, स्विमिङ पुल र प्रसिद्ध घडीअर्वा पोखरीलाई सहरको साझा सम्पत्तिका रूपमा उल्लेख गर्दै तिनको अस्तित्व रक्षाका लागि अभियान सुरु गर्ने सङ्केत गरेका छन् । उनले यी संरचनाहरू केवल भौतिक सम्पत्ति मात्र नभई वीरगञ्जको संस्कृति, सभ्यता र पहिचानको धरोहर भएको बताए ।
अभियानमा आबद्ध अभियन्ताहरूका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण भावी पुस्ताप्रतिको महत्त्वपूर्ण जिम्मेवारी पनि हो । नागरिक एकता र सामूहिक प्रयासबाट मात्र सरकारी तथा सार्वजनिक सम्पत्तिलाई अतिक्रमणबाट जोगाउन र जनहित अनुकूल व्यवस्थापन गर्न सकिने उनीहरूको विश्वास छ ।
सांसद पन्तले सामाजिक सञ्जालमार्फत वीरगञ्जवासीलाई साथ दिन आग्रह गर्दै लेखेका छन्, “अब हामी वीरगञ्जवासीले बचाउनै पर्ने हाम्रा ऐतिहासिक धरोहरहरू भनेको टाउन हल, स्विमिङ पुल र घडीअर्वा पोखरी हो । यदि सम्पूर्ण वीरगञ्जवासीको साथ र सहयोग रह्यो भने हामी वीरगञ्जवासीको सम्पत्ति वीरगञ्जवासीलाई नै फिर्ता गर्न सक्षम हुनेछौँ ।”
सांसद पन्तको आह्वानसँगै वीरगञ्जमा सार्वजनिक सम्पत्तिको संरक्षण र उचित उपयोगको विषयमा नयाँ बहस सुरु भएको छ । ऐतिहासिक सम्पदाहरूको पुनर्जीवनका लागि स्थानीय तह र सरोकारवाला निकायहरूलाई समेत घचघच्याउने यस अभियानको लक्ष्य रहेको बुझिएको छ ।
अर्कोतर्फ कयौँले सांसद पन्तले सीमित स्थानहरूको लागि मात्र आवाज उठाए पनि वीरगञ्जको नारायणी अस्पताल, नारायणी रङ्गशाला, बिपी उद्यान पार्क, आदर्शनगर रङ्गशाला, सिर्सिया नदी सफाइ, अतिक्रमणलगायतका विषयहरूमा नबोलेको आरोप समेत लगाएका छन् ।