जनकपुरधाम । भारतको भारतीय महावाणिज्य दूतावास वीरगञ्जले जनकपुरधाम उपमहानगरपालिका तथा जानकी मन्दिरको सहकार्यमा अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्वसन्ध्यामा विशेष योग कार्यक्रम आयोजना गरेको छ। जुन १९ मा जानकी मन्दिरको पवित्र परिसरमा आयोजित कार्यक्रम “स्वस्थ आयुकालागि योग” भन्ने मूल विषयवस्तु अन्तर्गत सम्पन्न भएको हो।
दूतावासले आफ्नो कन्सुलर क्षेत्रभित्र अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजना गर्दै आएको कार्यक्रमहरूको शृङ्खलाअन्तर्गत यो पाँचौं कार्यक्रम रहेको जनाएको छ।
कार्यक्रममा विभिन्न पृष्ठभूमिका ६०० भन्दा बढी सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय बासिन्दा, विद्यार्थी, योग साधक तथा सरकारी अधिकारीहरूले योगमार्फत स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देश प्रवाह गर्न एकसाथ सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव थिए । असागरी मधेश प्रदेश सभामुख राम आशिष यादव तथा जनपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जानकी मन्दिरजस्तो धार्मिक तथा सांस्कृतिक महत्वको स्थलमा योग कार्यक्रम आयोजना गरेकोमा भारतीय महावाणिज्य दूतावासको पहलको प्रशंसा गरे। उनले योगका शारीरिक, मानसिक तथा आध्यात्मिक लाभबारे चर्चा गर्दै नागरिकहरूलाई दैनिक जीवनमा योग अभ्यास अपनाउन आग्रह गरे।
सो अवसरमा भारतका महावाणिज्यदूत देवी सहाय मीनाले नियमित योगाभ्यासले दीर्घकालीन स्वास्थ्य, एकाग्रता तथा आन्तरिक शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले अन्तर्राष्ट्रिय योग दिवसको यस वर्षको मूल विषयवस्तुलाई आत्मसात गर्दै स्वस्थ जीवन र सामूहिक कल्याणका लागि योगलाई जीवनशैलीको रूपमा अपनाउन सबैलाई आग्रह गरे।
कार्यक्रमको समापन प्रशिक्षित प्रशिक्षकहरूको नेतृत्वमा आयोजित सामूहिक योग अभ्यासबाट गरिएको थियो। सहभागीहरूले “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने सन्देशलाई आत्मसात गर्दै योगको महत्वलाई अझ व्यापक रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।