×

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले वन संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानीय समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रबाट प्रशंसा–पत्रसहित सम्मान प्राप्त गरेको छ।

रेड कार्यान्वयन केन्द्र, बबरमहल, काठमाडौंद्वारा सञ्चालित ‘समृद्धिका लागि वन (समृद्धिका लागि वन)’ परियोजनाअन्तर्गत स्थानीय तहमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, वन संरक्षण, वातावरणीय व्यवस्थापन तथा समुदायको आर्थिक उन्नयनमा पुर्‍याएको योगदानका आधारमा गाउँपालिकालाई सम्मान गरिएको हो।

केन्द्रले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा जगरनाथपुर गाउँपालिकालाई मधेश प्रदेशकै उत्कृष्ट स्थानीय तहको रूपमा छनोट गर्दै प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गरेको जनाएको छ।

प्राप्त सम्मानले वन तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन प्रेरणा मिलेको गाउँपालिकाका जनप्रतिनिधिहरूले बताएका छन्। साथै, दिगो विकास, हरित वातावरण र सामुदायिक सहभागितामा आधारित कार्यक्रमहरूलाई थप सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

गाउँपालिकाले प्राप्त गरेको सम्मानले समग्र पर्सा जिल्लाकै प्रतिष्ठा बढाएको भन्दै स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्।

गाउँपालिका अध्यक्ष श्रीकान्त यादव ले यो उपलब्धि गाउँपालिकाभित्रका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय समुदायको सामूहिक प्रयासको परिणाम भएको बताए। “मधेश प्रदेशकै उत्कृष्ट स्थानीय तह बन्न सफल हुनु सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोग तथा समर्पणको प्रतिफल हो,” उनले भने।

अध्यक्ष यादवले जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु रहेको उल्लेख गर्दै राज्यले निर्धारण गरेको मापदण्डभित्र रहेर प्रभावकारी सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए।

वन संरक्षण, वातावरणीय व्यवस्थापन र सामुदायिक सहभागितामूलक विकासका क्षेत्रमा जगरनाथपुर गाउँपालिकाले हासिल गरेको यो सम्मानलाई स्थानीय तहको सफल अभ्यासका रूपमा समेत हेरिएको छ।

Back to top