×

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘बिसीसीआई स्टार्टअप एण्ड इन्क्युबेशन प्रोग्राम २०२६’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) को सहकार्य तथा सङ्घको स्टार्टअप एण्ड इनोभेसन कमिटीको समन्वयमा सञ्चालित उक्त कार्यक्रम १३ दिनसम्म बिसिसिआईको सभाहलमा सञ्चालन गरिएको थियो।

युवा उद्यमी तथा व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा व्यवसाय व्यवस्थापन, वित्तीय योजना, ब्रान्डिङ, बजार विस्तार, लगानी तयारी, बैंकिङ पहुँच, कानुनी प्रक्रिया तथा सञ्चालन व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

१३ दिने मास्टरक्लासमा विभिन्न क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायिक परामर्शदाताहरूले सहजीकरण गरेका थिए। कार्यक्रममा उद्यमशीलताको आधारभूत अवधारणा, व्यवसायिक योजना निर्माण, लेखा तथा कर प्रणाली, बजार विश्लेषण, वित्तीय साक्षरता, लगानी व्यवस्थापन, स्टार्टअप फाइनान्सिङ, उद्योग विश्लेषण तथा सञ्चालन व्यवस्थापनका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको उद्घाटन निम्बस ग्रुपका अध्यक्ष तथा प्रख्यात उद्योगी जगदीश अग्रवालले गरेका थिए। समापन समारोह सङ्घका सहसचिव तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका संयोजक अनुप कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो।

समारोहमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष माधवराज पाल, उपाध्यक्ष आशिष लाठ लगायत पदाधिकारी तथा सहभागीहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रशिक्षण अवधिभर सहभागीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवहारिक ज्ञान, व्यवस्थापकीय सीप तथा उद्यमशील सोच विकास गर्ने अवसर प्राप्त गरेका छन्। साथै, कार्यक्रमले युवा उद्यमीहरूलाई अनुभवी व्यवसायी, उद्योगी तथा विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै व्यवसायिक नेटवर्क विस्तार गर्ने अवसरसमेत प्रदान गरेको थियो।

समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै नयाँ व्यवसाय स्थापना गर्न तथा विद्यमान व्यवसायलाई थप विस्तार गर्न सहभागीहरू सक्षम हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन तथा युवा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

Back to top