वीरगञ्ज । सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्। दुर्घटनामा संलग्न कार चालक रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ स्थित नरह चोकमा मंगलबार दिउँसो करिब १२ बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी अन्दाजी ५० वर्षीय लालकुमार यादव गम्भीर घाइते भएका थिए। उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिए पनि उपचारकै क्रममा दिउँसो ४ः१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी ४७ वर्षीया रामपरी यादव घाइते भएकी छन्। प्रहरीका अनुसार उनको दाहिने खुट्टामा चोट लागेको छ र विराट नर्सिङ होममै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
मृतक यादव यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए। सईबाट वरिष्ठ सईमा बढुवा भएपछि उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय सिराहामा कायम भएको थियो। उनले असार ६ गते बाराबाट रमाना लिए पनि सिराहामा हाजिर हुनुअघि नै दुर्घटनामा परेका हुन्।
दुर्घटनामा संलग्न कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी अन्दाजी ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ। उनी रेडियोलोजिस्ट हुनुका साथै नेपाल मेडिकल एशोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट एक्स–रे सेवा प्रदान गर्न बर्जुको चिमडी बजारतर्फ जाँदै गरेका बेला डा. चौधरीले चलाएको ईभी कारले मोटरसाइकललाई ठक्कर दिएको खुलेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको समयमा कार तीव्र गतिमा गुडिरहेको थियो।
प्रहरीले कारको ठक्करपछि मोटरसाइकलमा आगलागीसमेत भएको जनाएको छ। स्थानीयवासीको सक्रियतामा आगो तत्काल नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।