वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले पर्साको ठोरी गाउँपालिकाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको छापामार कारबाहीमा १५८ किलोग्राम गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा मातहतको सीमा सुरक्षा गुल्म हेडक्वार्टर भीखमपुरबाट खटिएको टोलीले ठोरी गाउँपालिका–४ स्थित मिलचोकमा रहेको एक घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो।
सीमा सुरक्षा गुल्म भीखमपुरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमन बोगटीको कमाण्डमा खटिएको ५४ सदस्यीय विशेष टोलीले स्थानीय गम्भीर श्रेष्ठको जस्ताले छाएको पक्की घरलाई घेराउ गरी स्थानीय जनप्रतिनिधि तथा नेपाल प्रहरीको रोहबरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्लास्टिक र बोरामा ११ वटा पोका बनाएर लुकाइराखिएको अवस्थामा १५८ किलोग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।
बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
छापा मार्ने क्रममा घरधनी गम्भीर श्रेष्ठ भने फरार रहेको प्रहरीले जनाएको छ। उनका दुई नाबालक सन्तान रहेका कारण उनकी श्रीमती अस्मिता तामाङ श्रेष्ठलाई ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको रोहबरमा जिम्मा लगाएर छाडिएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनामा संलग्न फरार व्यक्तिको खोजी तथा थप अनुसन्धान भइरहेको सुरक्षा निकायले जनाएको छ।